यस वर्षको माध्यममिक शिक्षा परीक्षा (Secondary Education Examination-SEE) को परीक्षामा विद्यालयको सर्वश्रेष्ठ स्थानमा पर्न सफल छोरी मनिसा कामीलाई हार्दिक वधाई छ ।
म मनिषा कामी । मेरो घर चितवन जिल्लाको कालिका नगरपालिका अन्तर्गत वडा नं. ३ मा पर्दछ । म अहिले रेडक्रस मा. वि. बाट SEE पास भएर कक्षा ११ मा पढ्ने तरखरमा छु । मेरो घरमा बुबा, आमा, दिदी, भाइ र म गरी जम्मा ५ जना बस्छौँ । म एक गरिब परिवारमा जन्मिएकी छोरी हुँ । बिहान बेलुकाको छाक टार्न समेत गाह्रो छ । बुबाआमाले दुःख गरेर पढाउँदै गर्दा पहिले चेली नेपालले दिदीलाई छात्रवृत्ति दिएर पढाइको लागि सहायता गरेको थियो । बुबाआमाले घरमा दिदीलाई असल बाटो देखाउन नसकेकै कारणले होला उहाँले गलत निर्णय गरेर सानै उमेरमा विवाह गर्नुभयो । दिदीको विवाहपछि चेली नेपालले मलाई छात्रवृत्ति प्रदान गर्यो । त्यसको साथै चेली नेपालले ट्यूसनको समेत व्यवस्था गरिदियो । ट्यूसन सुरु हुनुभन्दा पहिले म पढाइप्रति कुनै चासो राख्दिनथे । ट्यूसन सुरु भएपछि पनि म पढ्न जादैनथे । गए पनि हल्ला गरेर बस्ने गर्थे । जब म प्रथम त्रैमासिक परीक्षामा सबै विषयमा अनुत्तीर्ण भएँ । त्यसपछि ट्यूसन सेन्टरको मिस विद्यालयमा गएर रिजल्ट हेर्नुभयो र त्यो रिजल्ट घरमा आमालाई देखाएर सम्झाउनुभयो । त्यो रिजल्ट देखेर आमा रुनु भयो । आमा रोएको देखेर मलाई साह्रै नरमाइलो लाग्यो । मैले अबदेखि राम्रोसँग पढ्ने वाचा मनमनै गरेँ । त्यस दिनदेखि मैले दिनरात मिहिनेत गरेर पढ्न थालेँ । ट्यूसन सेन्टरको मिसले दिनुभएको सल्लाह, सुझाब र हौसलालाई मानेर निरन्तर मिहिनेत गरेको कारण म एस ई ई परीक्षामा विद्यालयकै प्रथम हुन सफल भएँ । हिजो मेरो कारण रुनुभएको मेरी आमाको ओठमा हाँसो ल्याउन सफल भएकोमा आज म धेरै खुसी छु । यसको श्रेय म विशेष गरेर ट्यूसन सेन्टरका सरहरु र मिसलाई नै दिन चाहन्छु । आगामी दिनहरुमा पनि हजुरहरुको माया र मार्गदर्शनको आशा गर्दछु । मलाई छात्रवृति दिने दाताप्रति आभारी छु ।
धन्यवाद !